बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जापानको राजधानी टोकियो क्षेत्रमा संकटकाल घोषणा

शुक्रबार, पुष २४ २०७७

काठमाडौँ । कोरोना भाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ। जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन्।
प्रधानमन्त्री योशिहिडा सुगाले संकटको उच्चतम अवस्थामा पुग्‍न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताए।
अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ।संकटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ।यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन्।
प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरुलाई विषेश अनुरोध गरेका छन्। टेकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवाहरुलाई विषेश आग्रह गरेका छन्।
‘सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईसँगै तपाईको बुवा आमा, हजुर बुवा हजुर आमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,’ उनले भने।
सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पुर्‍याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका छन्। देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन्।
जापानमो अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।