बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल सुनचाँदी ब्यवसायी महासंघको महाअधिवेशन शुरु हुँदै

बुधबार, पुष २२ २०७७

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन यही पुस २४ र २५ गते शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न हुने भएको छ ।  यसपटक महासंघको साधारण सभा तथा अधिवेशनमा देशभरका ६५ जिल्लारनगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरुको तर्फबाट ऐतिहासिक रुपमा ६०० भन्दा बढी प्रतिनिधिर पर्यवेक्षकहरुले सहभागिता जनाउनेछन् । कोरोना संक्रमण विद्यमान रहेको हालको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुरुप कार्यक्रम संचालन गरिनेछ 
साधारण सभाको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा उद्घाटन सत्र हुनेछ भने शनिबार बन्द सत्र तथा निर्वाचनको कार्यक्रम रहेको छ । निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्य समिति बन्नेछ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले पनि संघीय संरचनालाई आत्मसात् गर्दै  सात वटै प्रदेशमा प्रदेश महासंघ गठन गरे अनुरुप  प्रदेश महासंघहरुको  निर्वाचन अग्रिम रुपमा सम्पन्न भइसकेको छ ।  
यसपटकको साधारणसभामा कोरोना महामारीका कारण र नेपाल सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि अत्यधिक रुपमा प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन साझा अजेन्डाका लागि गम्भीर छलफल हुनेछ ।
२०६९ साल फाल्गुण २० गते विधिवत रुपमा दर्ता भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  देशभरिका सुनचाँदीका ब्यवसायीहरुको हक हित र  अधिकार प्राप्तिका लागि मात्र नभई गुणस्तरीय गरगहनाहरुको उत्पादन, ब्यवसायिक इमान्दारीता, उपभोक्तामुखी सेवा र सामाजिक उत्तरदायित्वको साथ देशको आर्थिक सम्बृद्धिमा योगदान गर्न गराउन पनि महत्वपूर्ण भूमिका निभाउँदै आएको स्मरण गराउन चाहन्छौं ।
साथै, विगत वर्षमा झैँ यसपटकको सातौं तथा आठौं बार्षिक साधारणसभामा  पनि छापा, विद्युतीय र अनलाइन गरी तीन विधाका तीन सञ्चारकर्र्मीलाई सम्मानित गर्ने कार्यक्रम  रहेको जानकारी गराउन चाहन्छौं ।