काठमाडौं । पछिल्लो समय नेपालमा महंगा मोबाइलको खपत बढेको छ । महंगा मोबाइलमा यसरी ग्राहकको आकर्षण बढ्दा देशबाट बाहिरिने रकम भने बढेको छ ।
भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म बिदशबाट १७ अर्ब ६४ करोडको २७ लाख ७२ हजार ८ सय ४३ वटा मोबाइल सेट देश भित्राइएको छ। गत वर्ष भने यहि समयमा १० अर्ब ३६ करोडको २५ लाख ४२ हजार ८ सय २२ वटा मोबाइल भित्राइएको थियो ।
यसरी हेर्दा गत वर्षको तुलनामा २ लाख ३० हजार सेट बढि आएपनि रकम भने ७ अर्ब २८ करोड बढि बाहिरिएको छ ।
यसले पछिल्लो समय महंगा मोबाइलको आयात बढेको पुष्टि हुन्छ । व्यवसायीहरु पनि अहिले १५ देखि ३० हजारका मोबाइल बढि बिक्री हुने गरेको बताउँछन् । महामारीमा अन्य व्यवसायी कसरी व्यवसाय बचाउने होला भन्ने सोचमा रहेका बेलामा मोबाइल बिक्रेताहरुले पनि राम्रो आम्दानी गरेका छन् ।
महामारीसँगै बन्द भएको कक्षा कोठाको पढाई अझै सबै स्थानमा सुचारु हुन सकेको छैन । अनलाइन कक्षाका लागि ल्यापटप तथा मोबाइलको खपत पनि बढेको छ । यसअघि फोनका लागि प्रयोग हुने मोबाइल अहिले अनलाइन कक्षाका लागि प्रयोग हुन थालेका छन् । जसका लागि अलिक महंगो मोबाइलको खरिद गर्नुपर्ने हुन्छ ।
देशबाट मंसि र मसान्तसम्म जम्मा ५० अर्बको निर्यात भएको छ । जसमा २६ अर्ब कृषिजन्य बस्तुको निर्यात भएको हो । र यस्तो कृषिजन्य बस्तुको निर्यातमा अझ १३ अर्ब त बिदेशबाट भटमासको तेल ल्याएर यहाँको सिमा क्षेत्रका तेल मिलले भारत निर्यात गरेको रकम हो । जुन दिगो निर्यात त होइन नै यहाँको उत्पादन समेत होइन । कृषिजन्य बस्तुको निर्यातबाट नेपालले पाउने लाभ भने २० देखि २५ प्रतिशत हो, अन्य त लगानी नै हो । कृषिजन्य बस्तुको निर्यात भन्दा बडिढ त मोबाइलको आयात भएको प्रष्ट देखिन्छ । बिदेशबाट कच्चा पदार्थ आयात गरेर प्याकिङ गरेका बस्तु निर्यात गरि देशले खासै लाभ पाउने नभएपनि आन्तरिक उत्पादनबाट भने रोजगारी सिर्जना हुुन्छ ।
महंगा तथा मोबाइल र सवारी साधनको उपभोगले देशबाट बाहिरिने रकम बढाउँछ । आन्तरिक उत्पादन बढाउन नसक्ने हो भने बढ्दै गएको उपभोगले देशको ब्यापारा घाटा आगामी दिनमा बढाउँदै लाने देखिन्छ ।
मोबाइलमा रकम बाहिरिदा यता ब्यापारीहरुको कारोबार भने राम्रो भएको छ । मोबाइलको माग बढेकाले उनिहरुले मोबाइल खरिदमा छुट पनि दिनु परेको छैन । जसका कारण उनिहरु मालामाल भइरहेका छन् ।