काठमाडौं । कोरोना भाइरसबाट भारतमा अहिलेसम्म एक करोडभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् भने एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
यो महामारी नियन्त्रणको लागि अहिले विश्वका धेरै मुलुकहरुमा कोरोना खोप कार्यक्रम सुरु पनि भइसकेको छ । यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महामारी नियन्त्रणको लागि ‘दबाइ भि, कडाइ भि’ नारा अघि सारेका छन् । यसले पनि भारत अबको केही समयमा नै कोरोना खोप कार्यक्रम ल्याउने दिशामा अघि बढिरहेको बुझ्न सकिन्छ ।
धेरै मुलुकले कोरोना खोपलाई अनुमति दिँदै खोप कार्यक्रम सुरु गरिसकेका छन् । तर, अहिलेसम्म भारतले भने कुनै पनि कोरोना खोपलाई अनुमति दिएको छैन । यद्यपि उसले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँगको सहयोगमा विकास गरेको कोरोना खोप र घरेलु कम्पनी भारत बायोटेकले निर्माण गरेको कोरोना खोपलाई अनुमति दिने अन्तिम तयारी गरेको छ ।
भारतका खोप विज्ञहरुले यी दुई खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफारिस गरिसकेका छन् । यद्यपि भारत बायोटक कम्पनीले विकास गरेको खोपको अन्तिम चरणको परीक्षण सकिएको छैन ।
साथै अन्य केही कम्पनीहरुले पनि आफ्नो खोपलाई अनुमति दिन आवेदन दिएका छन् । तर, उक्त खोपहरुको विषयमा भने थप अध्ययन आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।
अमेरिकी कम्पनी फाइजरले विकास गरेको कोरोना खोपले पनि भारतमा अनुमतिको लागि आवेदन दिएको थियो । तर, भारतीय अधिकारीहरुले भने फाइजरको खोपबारे पर्याप्त जानकारीहरु पाउन नसकिएको बताउँदै आएका छन् । भारतमा रुसी कम्पनीले विकास गरेको खोपको पनि परीक्षण चलिरहेको छ ।