बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

उपभोक्तामा बढ्दैछ लोडसेडिङको भय, किन काटिदैछ लाइन ?

बिहिबार, पुष १६ २०७७

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानामा झ्याप्प  लाइन गयो । लाइन लामो समय गएन तर जाने आउने गर्याे । जसले उपभोक्तामा भने  फेरी लोडसेडिङ हुन थालेको पो हो कि भन्ने भय सिर्जना गरेको छ ।

भारतबाट आयात गरेको बिजुली सहित देशमा उपलब्ध बिजुली माग अनुसारको भएपनि बत्ति भने जाने गरेको छ । प्राधिकरण भने सिस्टममा खराबीका कारण लाइन गएको  नियोजित रुपमा बत्ति नकाटिएको दावी गर्छ ।

त्यस्तै सोमबार साझ ६ बजेर २७ मिनेट जाँदा बिजुली बत्ती झ्याप्प निभ्यो । चन्द्रनिगाहापुर देखि कोहलपुरसम्मको मध्य तथा मध्यपश्चीमको भागमा पुरै अन्धकार भयो । कैयनका मनमा लोडसेडिङ हुन थाल्यो कि क्या हो भन्ने प्रश्न पनि उब्जीयो । 

 विद्युत प्राधिकरणका अनुसार ७२ मेगावाटको मध्यमस्र्याङ्दीमा पानी नपुगेर एउटा युनिट बन्द  गर्नुपर्याे । यसको सट्टामाभारतबाट बिजुली आयात बढाएर मुजफ्फरपुरबाट चन्द्रनिगाहापुर जाने  प्रसारणलाइनमा प्राधिकरणले २ सय २० मेगावाट बिजुली प्रवाह गर्न खोज्यो ।

तर, सिस्टमले नधानेपछि  यो प्रसारण एक छिनका लागि बन्द हुन पुग्यो । जसका कारण चन्द्रनिगाहापुर देखि पश्चीमको भाग अर्थात कोहलपुरसम्म अन्धकार भयो । तर बिजुली हिजो मात्रै होेइन अहिले बेलाबेलामा जाने गरेको छ ।

गत वर्षसम्म ट्रान्सफर्मरका कारण बिजुली बत्ति झ्याप्प  जाने गरेको बताउने प्राधिकरणले अहिले भने प्रसारणलाइनका तार कम क्षमताका भएकाले लाइन गएको बताउन थालेको छ ।

सोमबार कुल विद्युत माग १४ सय ५७ मेगावाट थियो । गत वर्षको पुष १३ मा १४ सय ७ मेगावाट माग रहेको प्राधिकरण बताउँछ । अर्थात गत वर्षको तुलनामा जम्मा ५० मेगावाट मात्रै माग बढेको हो ।

बितरण केन्द्रहरुले बताएअनुसार सरदर गत वर्षको तुलनामा १० प्रतिशत माग बढेको छ । तर यहि माग धान्न नसकेर कहि तार जलेकाले बिजुली जाने गरेको छ भने कतै फ्युज  जाने गरेका छन् ।

 प्राधिकरणले समयमै  विद्युत प्रसारणप्रणली अपग्रेड गर्न नसकेका कारण उपभोक्ताले अहिले गुणस्तरीय बिजुली पाउन  सकेका छैनन् ।

जाडो बढेसँगै बिजुलीको माग बढेको छ तर खोलामा पानीको बहावमा कमि आएसँगै स्वदेशका आयोजनाको उत्पादन घटेको छ । जसका कारण  भारतबाट आयातीत बिजुलीको मात्रा दिनदिनै बढाउनु परेको छ ।

कुल खपत हुने बिजुली मध्ये ४० प्रतिशत भारतबाट आयात गरेको छ  । आवश्यक बिजुली उत्पादन गर्न नसक्ने त छदैछ उत्पादित बिजुली समेत बितरण गर्ने प्रणाली स्तरोन्नती गर्न नसक्दा  उपभोक्ताले गुणस्तरीय बिजुली पाउन सकेका छैनन् ।

त्यसैले अब  प्राधिकरणले ढिला नगरि बिद्युतको गुणस्तर सुधार्न जरुरी छ ।