काठमाडौं । सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ९ डीआईजी पदका लागि बढुवाको तयारीमा रहेको छ । यसका लागि डीआईजी बढुवा समितिको बैठक बस्दै छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बढुवा समितिको बैठक बस्न लागेको हो ।
बढुवाका लागि आजै सिफारिस हुने जनाइएको छ । स्रोतकाअनुसार आईजिपीको टोलीबाट एसएसपीहरु गणेश ऐर, पुरूषोत्तम कँडेल, दिवेश लोहनी, रामकृपाल शाह र देवबहादुर बोहरा डीआईजी बन्ने पक्कापक्की भएको छ ।
यस्तै दोस्रो ब्याचबाट एसएसपीहरु प्रकाश अधिकारी, मुकुन्द आचार्य, सुशील यादव र पूजा सिंह पनि डीआईजी बन्ने प्रबल सम्भावना छ । बढुवाका अन्य प्रतिस्पर्धीहरुमा दिलिपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोगटी, सौरभ राणा, उमेश रञ्जितकार छन् ।
यो टोली २०७४ साउन १९ मा एसएसपी बढुवा भएको हो । यस्तै, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, विक्रम चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला र प्रदिपकुमार श्रेष्ठको पनि दाबेदारी रहेको छ ।
यो समूह २०७५ जेठ ३ मा एसएसपी बढुवा भएको हो । २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, मीरा चौधरी, किरण बज्राचार्य, पोषराज पोखरेल, बसन्तबहादुर कुँवर, डा गणेश रेग्मी र रामदत्त जोशी पनि डीआइजी बढुवा दौडमा छन् ।
यो समूूह २०७५ फागुन ६ मा एसएसपी बढुवा भएको हो । यसबाहेक २०७५ फागुन ६ मा एसएसपी बनेका दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकालको पनि दाबेदारी छ ।