काठमाडौं, मंसिर ३ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ११ कपन फैकाचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, नुर्फिन १४ एम्पुल र फेनारगन १४ एम्पुल सहित काठमाडौं महानगरपालिका १० जोरधारा बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय रमेश बिक समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ जगातीबाट बा.४ ख २२६३ नम्बरको हाईस गाडी जाँच गर्ने क्रममा वेवारिसे अवस्थामा रहेको नियन्त्रित लागूऔषध डाईलेक्स १ सय ९० बोतल र नाईट्राभेट ट्याब्लेट २० थान फेला पारी सोमबार साँझ प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले सुनसरीबाट काठमाडौंतर्फ जाँदै गरेको सो गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।