दोलखा । पाँच वर्षदेखि सडक निर्माण सम्पन्न नगरेको भन्दै दोलखामा व्यवसायी र नागरिक समाजले विरोध गरेका छन् ।
गत शनिवार ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्ध निर्देशक दीपक सापकोटाको तस्वीर सवारीसाधन, बिजुलीका पोल र सार्वजनिक स्थानहरुमा टाँसेर दबाब दिएका थिए ।
त्यस्तै आज (मंगलबार) उनीहरुले दोलखाको सदरमुकाम चरिकोटस्थित मानवसाङ्लो बनाएर सडक तत्काल कालोपत्रे गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेका छन् ।
जनतालाई सास्ती दिने खाडीचौर–मुडे–चरिकोट सडक निर्माण ठेक्का लिई लथालिङ्ग पारेर शंकर माली निर्माण सेवाका ठेकेदार दीपक सापकोटा लगायतका व्यक्तित्वको बदमासीको विरुद्ध दबाबमूलक कार्यक्रम गरेको दोलखाबाट व्यवसायी भरत श्रेष्ठले खबरहबलाई जानकारी दिए ।
‘लामोसाँघु जिरी सडकखण्ड समयमै निर्माण हुन नसक्दा यसको प्रत्यक्ष असर दोलखाका होटल व्यवसायीहरुले भोग्नु परेको छ’ श्रेष्ठले भने ‘आगामी जेठसम्म कालोपत्रे सम्पन्न गरिसक्नुपर्ने हाम्रो माग हो ।’