बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओली बाकु प्रस्थान

बिहिबार, कार्तिक ७ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजानको बाकु प्रस्थान गरेका छन् । शुक्रबार र शनिबार बाकुमा हुने असंलग्न अभियानको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली कतार एयरवेजको विमानबाट त्यसतर्फ गएका हुन् ।

सम्मेलनमा ओलीले ‘बाङडुङ सिद्धान्तलाई आत्मसात् गर्दै वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतीको प्रतिक्रिया दिने’ शीर्षकमा विचार राख्ने कार्यक्रम छ । भर्खरै सम्पन्न संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पठाए पनि सम्मेलनमा प्रधानमन्त्री आफैं सहभागी हुन लागेका हुन्।

प्रधानमन्त्रीको टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री ज्ञवाली, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित परराष्ट्रका उच्च अधिकारीहरू रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव बैरागी यसअघि नै उच्च अधिकारीहरू सम्मिलित बैठकमा भाग लिन बाकु गइसकेका छन् ।