काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाएको छ। हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।