बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सार्वजनिक अडिओ एआईबाट बनाइएको खगेन्द्र सुनारको दाबी, छानबिन गर्न आग्रह

मंगलबार, असोज २७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूलाई जोडेर सार्वजनिक गरिएको अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरी बनाइएको दाबी गरेका छन्। उनले आफूमाथि लागेका आरोप झुटा भएको जिकिर गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा भिडियो र सन्देश सार्वजनिक गर्दै सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर आरोप र प्रहारको सिकार भइरहेको बताएका छन्।

‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडिओ सार्वजनिक गरिएको छ,’ उनले लेखेका छन्।

उनले सार्वजनिक भएका आरोपलाई अस्वीकार गर्दै ती सामग्री एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएको प्रचार भएको दाबी गरेका छन्।

सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न रास्वपा तथा सरकारलाई आग्रह गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

एक महिलालाई फोनमार्फत अपशब्द प्रयोग गरेको, धम्की दिएको तथा दुर्व्यवहार गरेको आरोपसहितको अडिओ सार्वजनिक भएपछि सुनार विवादमा परेका हुन्। यद्यपि, अडिओको प्रामाणिकता र त्यसमा सुनिएको आवाजबारे स्वतन्त्र पुष्टि भएको विवरण सार्वजनिक भएको छैन।

अडिओ सार्वजनिक भएपछि रास्वपाले पार्टीको केन्द्रीय अनुशासन समितिलाई घटनाबारे आन्तरिक छानबिन गर्न निर्देशन दिएको छ। छानबिनको निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन पनि पार्टीले निर्देशन दिइसकेको छ।