बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बूढीगण्डकीको बाढीले ३५ घर बगायो, विभिन्न गाउँमा व्यापक क्षति

आइतबार, असोज २५ २०८३

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उङ्गिलुङ खोलाबाट आएको बाढीले बूढीगण्डकी नदीमा जलस्तर बढ्दा पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुर्‍याएको छ ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आज बिहान ४ बजे बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए । चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको उनले जानकारी दिए ।

बाढीको जोखिम बढेपछि सिर्दिबास क्षेत्र तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले बाढीको जोखिममा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान अनुरोध गरिएको जानकारी दिए ।

हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । बाढीले पुर्‍याएको भौतिक क्षतिको विस्तृत विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।