हेटौँडा । मुग्लिन–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न आलोपालो प्रणाली लागू गरेको छ।
प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार वैकल्पिक मार्गमा सवारी चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै हेटौँडा–काठमाडौँ र काठमाडौँ–हेटौँडा चल्ने सवारीसाधनका लागि छुट्टाछुट्टै समयतालिका निर्धारण गरिएको हो।
निर्धारित समयअनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधनलाई असोज २४ गते बिहान २ देखि ५ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज २५ गते बिहान ४ देखि १० बजेसम्म पनि उक्त दिशामा सवारी सञ्चालन गर्न पाइनेछ।
त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनका लागि आज साँझ ६ः३० देखि राति ११ बजेसम्मको समय तोकिएको छ। असोज २४ गते बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्म पनि सवारी सञ्चालन गर्न पाइनेछ। असोज २५ गते दिउँसो २ देखि साँझ ७ बजेसम्म काठमाडौँबाट हेटौँडातर्फ सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको सुवेदीले जानकारी दिए।
प्रशासनले त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिएको छ। १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई भने उक्त सडकखण्डमा सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मुग्लिन–काठमाडौँ सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गमा सवारी चाप बढ्ने भएकाले आवागमन व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको बताए।
उनका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ। त्यस्तै, सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा साना सवारीसाधनका लागि आलोपालो समयतालिका लागू गरिएको छैन।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ।