मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एमाले स्थायी कमिटी बैठक आज, पहिलोपटक वरिष्ठ नेताका रूपमा विद्या भण्डारी सहभागी हुने

बुधबार, असोज २१ २०८३

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने एमाले प्रचार प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताका रूपमा मनोनित भएपछि बोलाइएको स्थायी कमिटीको यो पहिलो बैठक हो । त्यसैले भण्डारी पहिलोपटक वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुनेछन् ।

एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीका सम्पूर्ण पदाधिकारीलाई स्थायी कमिटी सदस्य रहने व्यवस्था गर्दै थप सात जनालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको थियो । सोही बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेको थियो ।

स्थायी कमिटीमा पदाधिकारीबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

बैठकले केन्द्रीय कमिटीले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्दै पार्टीका विभिन्न तहमा जिम्मेवारी बाँडफाँटसम्बन्धी निर्णय गर्ने भएको छ । बैठकबाट केन्द्रीय सदस्य, पोलिटब्युरो, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लगाइने आचार्यले बताए ।