शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान)सँगको सहकार्यमा स्याकम्यान एच६०० ६×४ इलेक्ट्रिक प्राइम मुभर र एच६०० ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ । यससँगै स्याकम्यानले नेपालमा विस्तार हुँदै गएको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन बजारमा प्रवेश गरेको छ ।
व्यावसायिक क्षेत्रका चुनौतीपूर्ण आवश्यकतालाई लक्षित गरी विकास गरिएका यी दुवै सवारीसाधनमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेन प्रयोग गरिएको कम्पनीले जनाएको छ । प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि लक्षित छ भने इलेक्ट्रिक टिपर निर्माण, खानी तथा चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि डिजाइन गरिएको छ ।
दुवै मोडलमा फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणालीजस्ता प्रविधि समावेश छन् । यी प्रविधिले व्यावसायिक क्षेत्रमा सवारीसाधनको सञ्चालन प्रभावकारिता र भरपर्दोपन बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।
सवारीसाधनमा चालकको आराम र सञ्चालन सहजतालाई ध्यानमा राख्दै एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ र ठूलो इन्स्ट्रुमेन्ट डिस्प्लेलगायतका सुविधा उपलब्ध छन् । साथै, हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीसमेत समावेश गरिएको छ ।
शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले स्याकम्यानसँगको साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधान भित्र्याउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताइन् । आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा थप अवसर सिर्जना गर्ने उनले उल्लेख गरिन् ।
सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्यान्डर्स लीले नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार रहेको बताए । शंकर ग्रुप र जगदम्बा मोटर्ससँगको सहकार्यबाट नेपाली बजारमा प्रविधिमा आधारित हेभी–ड्युटी समाधान उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ ।
जगदम्बा मोटर्सका एक्जेक्युटिभ डिरेक्टर अखिल गुप्ताले स्याकम्यान एच६०० आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोमा महत्वपूर्ण थप भएको बताए। नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्ने विद्युतीय हेभी–ड्युटी समाधान उपलब्ध गराउन पाउँदा कम्पनी उत्साहित रहेको उनले बताए ।
कम्पनीका अनुसार स्याकम्यान एच६०० ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, एच६०० ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ रहेको छ । यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गरेको छ । कम्पनीले यी सवारीसाधनमार्फत नेपालको यातायात, निर्माण, खानी तथा औद्योगिक क्षेत्रमा विद्युतीय मोबिलिटीका नयाँ विकल्प उपलब्ध हुने अपेक्षा गरेको छ ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले नेपालमा विभिन्न व्यावसायिक तथा अटोमोटिभ उत्पादनको वितरण तथा प्रवद्र्धन गर्दै आएको छ । स्याकम्यान चीनको प्रमुख हेभी–ड्युटी व्यावसायिक सवारीसाधन निर्माता कम्पनी हो । करिब ६ दशकको इतिहास बोकेको स्याकम्यानले सैन्य तथा व्यावसायिक सवारीसाधनसहित विभिन्न बजारका लागि ट्रक तथा यातायातसम्बन्धी समाधान उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।