बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनपीएल प्रसारणको ‘पावर बाइ’ पार्टनरमा नेपाल लाइफ इन्स्योरेन्स

शुक्रबार, असोज १६ २०८३

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को प्रसारण साझेदार बनेको छ । कम्पनीले एनपीएलको टेलिभिजन प्रसारणका लागि हिमालय स्पोट्र्स एचडीसँग ‘पावर बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता गरेको हो।

सम्झौताअनुसार नेपाल लाइफले आगामी नेपाल प्रिमियर लिगको प्रसारणमा हिमालय स्पोट्र्स एचडीसँग साझेदारी गर्नेछ । टी–२० क्रिकेटअन्तर्गत आयोजना हुने एनपीएल २०८३ आगामी कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ।

नेपालमा क्रिकेट खेल मात्र नभई साझा उत्साह, भावना र राष्ट्रिय एकताको माध्यमका रूपमा विकास हुँदै गएको भन्दै नेपाल लाइफले एनपीएलको प्रसारण यात्रामा सहकार्य गरेको जनाएको छ । देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीलाई एउटै उत्साहमा जोड्ने क्रिकेटको विशेषतासँग आफ्नो ब्रान्डको भावना जोड्दै प्रसारण साझेदारी गरिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यो सहकार्य केवल प्रसारण साझेदारीमा सीमित नभई नेपाली खेलकुदको प्रवद्र्धन, विकास तथा उत्थानमा सहयोग पुर्‍याउने प्रतिबद्धताको हिस्सा हो । मैदानमा विभिन्न टोलीबीच प्रतिस्पर्धा भइरहँदा टेलिभिजनमार्फत देशभरका लाखौँ दर्शक एउटै खेल, उत्साह र भावनामा जोडिने भएकाले एनपीएलसँगको सहकार्यलाई कम्पनीले विशेष महत्व दिएको जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले खेलकुदले मानिसलाई नजिक ल्याउने, साझा खुसी सिर्जना गर्ने र एकताको भावना बलियो बनाउने भएकाले एनपीएलको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिनु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताए ।

उहाँले नेपाल लाइफ नेपाली परिवारको जीवन, भविष्य र सुरक्षासँग जोडिँदै आएको उल्लेख गर्दै एनपीएलजस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत जीवन बीमाबाट आर्थिक सुरक्षा, विश्वास र जिम्मेवार तयारीको महत्वसम्बन्धी सन्देश दर्शकमाझ पुर्‍याउने उद्देश्य रहेकोे बताए।

कम्पनीले खेलकुदले समाजमा सकारात्मक ऊर्जा, राष्ट्रिय एकता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने भएकाले यस्ता प्रसारण प्लेटफर्मसँगको सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।