काठमाडौँ । झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनपछि नेकपा एमालेले आज आयोजना गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भनिएको शपथ ग्रहण कार्यक्रम भोलि असोज १६ गते दिउँसो ३ बजेसम्मका लागि सारिएको हो ।
एमालेले असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकबाट ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आजका लागि तय गरिएको थियो ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओली नेता बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन आज बिहान दुवाकोटस्थित क्यान्सर अस्पताल पुग्ने भएका छन् ।
पारिवारिक स्रोतका अनुसार बस्नेतको आज बिहान साढे ८ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहमा दाहसंस्कार गरिनेछ ।
२००९ साल असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका बस्नेत झापा आन्दोलनका अगुवा नेतामध्येका एक थिए । पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षका क्रममा उनले करिब १७ वर्ष जेलजीवन बिताएका थिए ।
लामो समयदेखि क्यान्सरबाट पीडित बस्नेतको गएराति उपचारका क्रममा निधन भएको हो ।