मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

चेकिङ टोली देखेर भागेको स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद

आइतबार, असोज ११ २०८३

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा गाँजासहित एउटा जिप बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–३ स्थित आयल निगमको सडकमा शनिबार राति आकस्मिक चेकजाँचका क्रममा ३९८ किलो गाँजा बरामद भएको हो।

इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको जिपलाई राति करिब १० बजे प्रहरी चौकी बरगाछीको टोलीले चेकजाँच गर्न खोजेको थियो। प्रहरीलाई देखेपछि चालकले जिप युटर्न गरेर भाग्न खोजेको प्रहरीले जनाएको छ।

भाग्ने क्रममा जिपले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनापछि प्रहरीले जिप खानतलासी गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १३ पोकामा ३९८ किलो गाँजा फेला परेको हो।

प्रहरीका अनुसार जिप चालक भने दुर्घटनापछि घटनास्थलबाटै फरार भएका छन्। उनको पहिचान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा कार चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजा बरामद भएको जिप र दुर्घटनामा परेको कार दुवै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ।