काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन्। कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बारा, पचरौता नगरपालिका–१ पिपरपाटीका करिब ३३ वर्षीय अनिस अन्सारीलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका ७९.६ ग्राम गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, कतारको दोहा हुँदै काठमाडौं आएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको गतिविधि शंकास्पद देखिएपछि विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिएर जाँच गरिएको थियो।
जाँचका क्रममा थोडीको साथबाट भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो पदार्थ ५३६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।