पर्सा । प्रहरीले वीरगन्जबाट १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१५ स्थित सडकमा बीआर०५बीएल १६८० नम्बरको मोटरसाइकलमा सवार दुई जना शङ्कास्पद रूपमा बसपार्कतर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट १५४ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ का सन्तोषप्रसाद पटेल रहेका छन्।
प्रहरीले पटेलको घरमा समेत खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाएर राखेको ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।