मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

शुक्रबार, असोज २ २०८३

सुनसरी। हुण्डी कारोबारमार्फत रु एक अर्ब ५७ करोड ६४ लाखभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको सूचनाका आधारमा शङ्कास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्दा उनीहरूको संलग्नता देखिएको हो।

प्रहरीका अनुसार शम्भुप्रसाद र सुरजप्रसादले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाताको प्रयोग गरी रु एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, सङ्गठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।