काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढिसकेको बताएका छन्। उनले पार्टीको विधि, विधान तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका हुन्।
शुक्रबार लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौँको शोभाभगवतीस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रकाशमान सिंहले यस्तो धारणा राखेका हुन्।
सिंहले कांग्रेसको १५औँ महाधिवेशनका लागि आफूहरू तयारीसहित अघि बढिसकेको बताए। पार्टीको आन्तरिक प्रक्रिया विधि, विधान र लोकतान्त्रिक अभ्यासअनुसार अघि बढाउने उनको भनाइ छ।
कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका र प्रक्रियालाई लिएर मतभेद देखिइरहेका बेला सिंहको यस्तो धारणा आएको हो।
सिंहले कांग्रेसको इतिहासमा राजनीतिक मुद्दालाई प्राथमिकता दिँदै आएको उदाहरणका रूपमा बीपी कोइराला र गणेशमान सिंहले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति स्मरण गरे।
उनले २०३३ सालमा राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि बीपी र गणेशमान निर्वासनबाट नेपाल फर्किएको उल्लेख गर्दै त्यसपछिका राजनीतिक घटनाक्रमले अन्ततः २०४६ सालको परिवर्तनको आधार तयार गरेको बताए।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा कांग्रेस सभापति गगनकुमार थापाले पनि १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै अग्रज नेताहरूको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनःस्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।