बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सभामुख पदको प्रस्ताव राखेका सुवास नेम्वाङद्वारा सभामुख पद अस्वीकार

शुक्रबार, असोज १७ २०७६

नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट सांसद बनेका कृष्णबहादुर महराको राजीनामासँगै अब राज्यको पाँचौँ वरियताक्रममा रहेको सभामुख पदको जिम्मेवारी कसले पाउँछ रु भन्ने चासो र चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ । 

यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख एकै पार्टीको हुन नहुने भन्दै आएपनि निर्वाचनताका फरकफरक दलबाट निर्वाचित भएर पछिमात्रै पार्टी एकीकरण भएपछि एकै पार्टी नेकपाले नै सभामुख र उपसभामुख पाएको थियो । 

तर अब भने त्यो सम्भावना छैन । महराले सभामुखबाट राजीनामा दिइसकेको अवस्थामा उपसभामुख नेकपाकै शिवमाया तुम्बाहाम्फे छिन् । 

उपसभामुख आफ्नै पार्टीको भएपनि नेकपा सभामुख अरु पार्टीलाई दिने पक्षमा देखिएको छैन । यस्तो अवस्थामा नेकपाले उपसभामुखलाई समेत राजीनामा दिन लगाउने र दुवैमा निर्वाचन गरेर सभामुख आफूले र उपसभामुख अन्य पार्टीलाई दिने योजना बनाएको छ । 

तर यसवारे नेकपाले पार्टीगत बैठक राखेर औपचारिक निर्णय भने गरिसकेको छैन । सम्भवत दसैंको समयमा यसबारेमा निर्णय गरिने सम्भावना रहेको नेकपाका एक सचिवालय सदस्यले बताए । उनका अनुसार नेकपाको शीर्ष नेताबीच भने सभामखुबारे छलफल भइरहेको छ । 

शीर्ष नेतृत्वबीच छलफल हुँदा सभामुखमा पूर्व संविधानसभाका अध्यक्ष र सभामुखको समेत ऐतिहासिक जिम्मेवारी पूरा गरेका सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरेको बुझिएको छ । तर शीर्ष नेताहरुको उक्त प्रस्तावलाई नेम्वाङले भने अस्वीकार गरेका छन् । 

‘म पटकपटक सभामुख भैसकेको मान्छे । ऐतिहासिक संविधानसभाको अध्यक्षको समेत जिम्मेवारी पूरा गरिसकेकाले अव पनि मैले नै त्यो पद लिनुपर्छ भन्ने छैन । अन्य क्षमतावान साथीहरु पनि हुनुहुन्छ । म नै किन हुनुपर्यो रु’ रातोपाटीसँग कुरा गर्दै नेम्वाङले शीर्ष नेताले आफूलाई जिम्मेवारी लिन अनौपचारिक प्रस्ताव गरेपनि आफूले त्यसलाई अस्वीकार गरेको बताए । 

‘मैले नेतृत्वलाई पनि यही भनेको छु । मबाहेक अरु साथीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने मेरो भनाइ हो,’ नेम्वाङको भनाइ छ । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकता गर्ने स्प्रिटमा २०७४ साल फागुन २५ गते माओवादी केन्द्रको तर्फबाट महरा सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थालाई समेत मध्यनजर गर्दै तत्कालीन एमालेले शिवमाय तुम्बाहाम्फेलाई उपसभामुख बनाएको थियो । तत्कालीन दुई पार्टीबीच सभामुख र उपसभामुख पदको लेनदेन राष्ट्रपति र उपराष्ट्रपति एवम् राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षसँग पनि प्रत्यक्ष जोडिएको छ ।

पछिल्लो पटक कर्मचारीमाथि यौन दुव्र्यबहारको गम्भीर आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त छ ।