काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनमा सक्रिय र उत्साहजनक सहभागिता जनाउन क्रियाशील सदस्य, नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।
मंगलबार अपिल जारी गर्दै सभापति थापाले आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनलाई विशेष महत्त्वका साथ लिएर सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना गर्ने कार्यतालिका छ। त्यसअघि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश तहका अधिवेशन सम्पन्न हुनेछन्।
महाधिवेशनको प्रक्रिया संविधान, नेपाली कांग्रेसको विधान तथा प्रचलित कानुनअनुसार अघि बढिरहेको उल्लेख गर्दै थापाले पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर संवाद, सहमति र अधिवेशन प्रक्रियामा भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका छन्।
उनले लोकतान्त्रिक पार्टीभित्र विचार र मत फरक हुनु स्वाभाविक रहेको भन्दै फरक मतलाई कमजोरीका रूपमा नभई लोकतान्त्रिक अभ्यासको हिस्सा मान्नुपर्ने बताएका छन्। पार्टीभित्र देखिने असमझदारीलाई संवाद र विधिसम्मत प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।
थापाले कांग्रेसभित्र फरक विचार र मतलाई स्वीकार गर्दै त्यसको समाधान पार्टीको विधि, विधान र स्थापित पद्धतिअनुसार खोज्ने परम्परा रहेको बताएका छन्।
महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र थप सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले कुनै अलमल वा द्विविधामा नपरी अधिवेशनका सबै चरणमा सक्रिय सहभागिता जनाउन कांग्रेसजनलाई आग्रह गरेका छन्।
नवीकरण भएका सबै क्रियाशील सदस्य सहभागी हुने
थापाका अनुसार पार्टीका अग्रज नेता तथा विभिन्न तहका पदाधिकारी र सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको छ।
सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यको नामावली टुङ्ग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशनका प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिएका छन्। निर्वाचन अधिकृतहरू जिल्लामा खटिइसकेको पनि अपिलमा उल्लेख छ।
तत्कालीन केन्द्रीय सदस्यलाई पनि सहभागी हुन आग्रह
विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरिसकेको थापाले बताएका छन्।
उक्त निर्णयसँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको उल्लेख गर्दै उनले उनीहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुन आग्रह गरेका छन्।
सभापति थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनसहित निर्धारित कार्यतालिकाअनुसारका सबै तहका अधिवेशनमा कुनै द्विविधा नराखी सहभागी हुन विशेष आग्रह गरेका छन्।
वडा तहबाट सुरु हुने महाधिवेशन अभियानले कांग्रेसलाई अझ एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रका चुनौती सामना गर्नसक्ने बलियो पार्टीका रूपमा अघि बढाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैको सहभागिता सुनिश्चित गर्दै १५औँ महाधिवेशन सफल बनाउन सभापति थापाले अपिल गरेका छन्।