बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एकदिवसीय मान्यता जोगाउन नेपाललाई अब तीन जितको चुनौती

बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा खराब प्रदर्शन गरिरहेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन अब कठिन चुनौती सामना गर्नुपर्ने भएको छ। पछिल्लो समय कप्तान परिवर्तनपछि भने नेपाली टोलीले सकारात्मक लय समातेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्व दिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट तथा विभिन्न विदेशी व्यावसायिक लिगको अनुभवका आधारमा सन्दीपलाई पुनः कप्तानीको जिम्मेवारी दिइएको थियो।

कप्तानमा फर्किएपछि सन्दीपले एसिसी प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे। नेपालले प्रतियोगितामा खेलेका छमध्ये पाँच खेल जित्दा एक खेलमा मात्र पराजय व्यहोरेको थियो। समूह विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले पराजित गर्दै उपाधि जितेको थियो।

उपाधिसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थानसमेत बनाएको थियो। प्रतियोगितामा सन्दीपले छ खेलमा २.९८ को इकोनमी रेटमा सर्वाधिक १७ विकेट लिए। उत्कृष्ट प्रदर्शनका कारण उनी प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा उनले लगातार दोस्रोपटक यो अवार्ड जितेका हुन्। यसअघि सन् २०२३ को संस्करणमा पनि उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीले एसिसी प्रिमियर कपमा नेपालको सफलताले सन्दीपको कप्तानी प्रभावकारी देखिएको बताए। उनका अनुसार नयाँ र पुराना खेलाडी सम्मिलित टोलीलाई व्यवस्थापन गर्दै सन्दीपले बलरको उचित प्रयोग र मैदानमा नेतृत्व क्षमता प्रदर्शन गरेका थिए।

चौधरीले सन्दीपसँगै बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख र अर्जुन कुमाललगायत खेलाडीको प्रदर्शन पनि नेपालको सफलतामा महत्वपूर्ण रहेको बताए।

अब भने सन्दीप नेतृत्वको नेपाली टोलीसामु विश्वकप लिग–२ मा एकदिवसीय मान्यता जोगाउने चुनौती छ। जारी चक्रमा नेपालले अब अन्तिम शृङ्खला मात्र खेल्न बाँकी छ, जसमा ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

हाल नेपाल लिग–२ को तालिकामा सातौँ स्थानमा छ। ३२ खेल खेलेको नेपालले ११ खेलमा जित, १९ खेलमा हार र दुई खेलमा अङ्क बाँडेको छ। शीर्ष छभित्र पर्दै एकदिवसीय मान्यता कायम राख्न नेपालले बाँकी खेलमा कम्तीमा तीन जित निकाल्नुपर्ने अवस्था बनेको छ।

नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ। एसिसी प्रिमियर कपको उपाधिले बढाएको आत्मविश्वासलाई लिग–२ मा निरन्तरता दिनु नेपाली टोलीका लागि महत्वपूर्ण हुनेछ।