काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य निर्माणका लागि भएको बताएका छन् ।
राष्ट्रिय बाल दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन् ।
यस वर्ष ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ । उक्त नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने तथ्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गर्दै भेदभावरहितता, बालबालिकाको सर्वोत्तम हित, जीवन, बाँच्न र विकासको अधिकार तथा विचार अभिव्यक्तिको अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले स्मरण गरेका छन् ।
यी मूल्य–मान्यतालाई नेपालको संविधानको धारा ३९ मा सुनिश्चित गरिएको बालबालिकाको हक, राष्ट्रिय बालबालिका नीति, २०८० तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले मौलिक तथा कानुनी अधिकारका रूपमा थप सुदृढ गरेको उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले अबको मुख्य प्राथमिकता संवैधानिक तथा कानुनी रूपमा सुनिश्चित बालअधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक रूपमा अनुभूति गराउनु रहेको बताएका छन् । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको उनको भनाइ छ ।
सङ्घ सरकारले राष्ट्रिय नीति तथा कानुनी र संस्थागत आधार सुदृढ गर्ने, प्रदेशले समन्वय तथा सेवाको विस्तार गर्ने र स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह तथा बालमैत्री वातावरण निर्माण गर्ने गरी तीनै तहका प्रयासलाई एउटै परिणाममुखी दिशामा अघि बढाउनुपर्ने प्रधानमन्त्री शाहले बताएका छन् ।