काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा दुई दिनदेखि जारी छ।
कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा महासचिव शङ्कर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर साझा दस्तावेज तयार गर्ने विषयमा नेताहरूबीच घनिभूत छलफल भइरहेको छ।
गत जेठ १० गते बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले देशभरबाट सुझाव सङ्कलन गरेपछि असार २५ गते महासचिव पोखरेललाई प्रतिवेदनको मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको थियो।
त्यसपछि भदौ २६ गते च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले थापा र पोखरेलका छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर एकीकृत दस्तावेज तयार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कार्यदलको आवासीय बैठक आयोजना गरिएको हो।
पार्टी पुनर्गठनको विषयमा भने कार्यदलभित्रै फरक दृष्टिकोण देखिएको छ। उपाध्यक्ष थापा वर्तमान नेतृत्वलाई मात्रै दोष दिएर हटाउन नहुने पक्षमा देखिएका छन्। उनले पार्टीभित्र देखिएका समस्या सामूहिक रूपमा समीक्षा गरी सुधारको बाटो खोज्नुपर्ने धारणा राखेका छन्।
महासचिव पोखरेल भने कार्यकर्ताको भावना र पार्टीको आवश्यकताअनुसार वर्तमान अध्यक्षलाई समेत बिदाइ गर्नुपर्ने पक्षमा उभिएको बताइएको छ।
कार्यदलभित्र देखिएको यही फरक दृष्टिकोणलाई समेट्दै सबैको सहमतिमा साझा प्रतिवेदन तयार गर्ने प्रयास भइरहेको छ। कार्यदलका सदस्य तथा सचिव डा. राजन भट्टराईका अनुसार बैठकमा प्रतिवेदनका विषयवस्तुमा गहन छलफल भइरहेको छ र सबै सदस्यबीच सहमति जुटाएर सोमबार बेलुकासम्म आवासीय बैठक सम्पन्न गर्ने तयारी छ।
साझा प्रतिवेदनमा निर्वाचन परिणामको समीक्षा, पार्टीभित्रको वर्तमान अवस्था तथा आगामी दिनमा गर्नुपर्ने पुनर्गठन र सुधारका विषय समेटिने बताइएको छ।