काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले विभिन्न पदमा ६६६ जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवस्रोत विभाग, हलचोकले आज सूचना जारी गर्दै साधारण समूहअन्तर्गत रिक्त रहेका पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
सूचनाअनुसार सशस्त्र प्रहरी जवान पदमा ६०४ जना माग गरिएको छ। माग सङ्ख्यामध्ये खुलातर्फ ३२६, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ तथा अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ पद छुट्याइएको छ।
त्यसैगरी, साधारण उपसमूहतर्फ विभिन्न छ ट्रेडमा सशस्त्र प्रहरी परिचरका ६२ पदका लागि दरखास्त माग गरिएको छ। जसअन्तर्गत भान्छे ३८, कूचिकार आठ, केशकर्तक सात, सूचिकार छ, चर्मकर्मी दुई र माली एक पद रहेका छन्। यी पदमा पनि खुला तथा समावेशी समूहअनुसार कोटा निर्धारण गरिएको छ।
दरखास्त फाराम भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ। अनलाइनमार्फत दरखास्त दिने आवेदकले फाराम भर्दा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ।
आवेदकको प्रारम्भिक शारीरिक परीक्षणसम्बन्धी तालिका कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ।