शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गर्न ओलीको माग, दोषीलाई कारबाही गर्न आग्रह

बुधबार, भाद्र २४ २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले बुधबार प्रेस वक्तव्य जारी गर्दै भदौ २३ गतेको युवा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

त्यसपछि भएका घटनामा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग प्रस्तुत गर्नु स्वाभाविक रहेको ओलीले उल्लेख गरेका छन्। संविधानले नागरिकलाई शान्तिपूर्ण रूपमा भेला हुने, विरोध गर्ने तथा लोकतान्त्रिक माध्यमबाट सरकार गठन, पुनर्गठन र परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको उनको भनाइ छ।

आफू नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि आयोग गठन गर्ने, सामाजिक सञ्जालमाथि लगाइएको अस्थायी प्रतिबन्ध हटाउने, घाइतेको निःशुल्क उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको ओलीले स्मरण गरेका छन्।

घटनाको नैतिक जिम्मेवारी लिँदै तत्कालीन गृहमन्त्रीले राजीनामा दिएको पनि ओलीले वक्तव्यमा उल्लेख गरेका छन्।

यस्तै, भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र आक्रमणलाई ओलीले दुःखदायी क्षणका रूपमा लिनुपर्ने बताएका छन्।

उनले भदौ २३ र २४ गतेका सम्पूर्ण घटनाको निष्पक्ष तथा गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।