शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआईएमबी अध्यक्ष पाँडेलाई ४० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

मंगलबार, भाद्र २३ २०८३

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले ४० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। अदालतले तोकेको धरौटी रकम बुझाएपछि पाँडे रिहा भएका छन्।

पाँडेविरुद्ध गत साउन २७ गते ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर गरिएको थियो।

अदालतमा दिएको बयानमा पाँडेले स्मार्ट टेलिकमले बैंकबाट लिएको ऋण भुक्तानी नगरेपछि बैंकको बक्यौता असुलीका लागि धितोमा रहेका उपकरण तथा अन्य सामान कानुनी प्रक्रियाअनुसार लिलाम गरिएको बताएका छन्।

उनले स्मार्ट टेलिकमका सामान आफूले व्यक्तिगत रूपमा कब्जा वा दुरुपयोग नगरेको दाबी गर्दै बैंकको लेना रकम असुलीका लागि मात्र लिलामी प्रक्रिया अघि बढाइएको बताएका छन्।

अदालतको आदेशमा समेत बैंकले स्मार्ट टेलिकमका सामान लिलाम गरी आफ्नो लेना रकम असुल गरेको भनी पाँडेले बयान दिएको उल्लेख छ।

यस प्रकरणमा बैंकिङ प्रक्रियाअनुसार ऋण असुलीका लागि धितो लिलाम गरिएको विषयलाई आपराधिक कसुरका रूपमा व्याख्या गर्न मिल्ने वा नमिल्ने भन्ने विषय महत्वपूर्ण देखिएको छ।

एनआईएमबीको पक्षले पनि स्मार्ट टेलिकमको हकमा बैंकले आफ्नो कर्जा असुलीका लागि कानुनी प्रक्रियाअनुसार धितो लिलाम गरेको दाबी गर्दै आएको छ।