रुपन्देही । बाढी तथा अन्य विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना र भ्रामक सामग्री फैलाउनेमाथि प्रहरीले निगरानी बढाएको छ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुग्ने अभिव्यक्तिसहितका भिडियो तथा सामग्री प्रसारण, पोस्ट वा सेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउने प्रयोगकर्ताको पहिचान गरी कडा कारबाही गर्ने जनाएको छ।
सामाजिक सञ्जालको दुरुपयोग गरी असान्दर्भिक टीकाटिप्पणीमार्फत समाजलाई भ्रमित नपार्न आग्रह गर्दै प्रहरीले केन्द्रमा साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको जनाएको छ। समितिले सामाजिक सञ्जालमा भइरहेका गतिविधिको निगरानीलाई तीव्रता दिएको प्रहरीले जनाएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री प्रसारण नगर्न सचेत गराएको छ। विपद्का बेला राहत सङ्कलनका नाममा ठगी गर्ने, पीडामा रहेका व्यक्ति तथा परिवारका विषयमा अनावश्यक टिप्पणी गर्ने र पीडितलाई थप मानसिक पीडा हुने सामग्री प्रसारण नगर्न पनि प्रहरीले आग्रह गरेको छ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रसुवा बाढीपछि देश तथा विदेशमा चिन्ता र चासो बढिरहेको अवस्थामा नागरिकको जिउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न प्रदेश प्रहरी संयन्त्र अहोरात्र खटिएको बताएका छन्।
उनका अनुसार प्राकृतिक विपद्को समयमा चोरी, ठगी, डकैतीलगायत आपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणमा प्रहरी थप सचेत छ। चोरी, तस्करी, लागुऔषध कारोबार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथिको निगरानीसमेत बढाइएको उनले बताए।
प्रदेशको समग्र सुरक्षा अवस्था सामान्य रहेको बताउँदै खत्रीले छिटपुट घटनाबाहेक पछिल्लो समय आपराधिक गतिविधि नियन्त्रणमा रहेको दाबी गरे।
यसैबीच, प्रहरीले दाङको तुलसीपुरबाट ११ बोरा पटाकासहित २१ वर्षीय प्रेम कसौधन र २१ वर्षीय सञ्जीव गुप्तालाई नियन्त्रणमा लिएको जनाएको छ। त्यस्तै, नवलपरासीको प्रतापपुरबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित पाँच जनालाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।