मकवानपुर । मकवानपुर प्रहरीले १६२ किलोभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार राति करिब २ः४५ बजे मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडकखण्डमा प्रहरीले सूचनाका आधारमा चेकजाँच गरेको थियो।
भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ०८७७ नम्बरको कारलाई ग २ च ६१५ नम्बरको पिकअपले स्कर्टिङ गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले दुवै सवारीसाधन रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारको भित्री सिटमा प्लास्टिकले बेरेर लुकाइराखिएका १३ वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। तौल गर्दा बरामद गाँजाको मात्रा १६२ किलो ७९४ ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पिकअपका चालकले प्रहरीलाई देखेपछि भाग्ने प्रयास गरेका थिए। प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएर कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई पक्राउ गरेको हो।
प्रारम्भिक सोधपुछका क्रममा पिकअपले गाँजा बोकेको कारलाई स्कर्टिङ गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मनहरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।