शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सामाजिक सञ्जालमा अफवाह फैलाउनेमाथि प्रहरीको कडा निगरानी, १७३ सामग्री पहिचान

मंगलबार, भाद्र २३ २०८३

काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने, गलत सूचना तथा अफवाह फैलाउने सामग्री सामाजिक सञ्जालमा प्रसारण गर्नेविरुद्ध प्रहरीले कडा कारबाही थालेको छ।

यसैक्रममा सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने भिडियो सामग्री प्रसारण गरेको आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै आइतबार पक्राउ परेका छन्। बैतडीको सुर्नया गाउँपालिका–७ का मडैलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मडैले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने खालका भिडियो बनाएर फेसबुक रिलमा अपलोड गरेका थिए।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचारलगायतका सामग्री फैलाउने गतिविधि बढेपछि प्रहरीले त्यस्ता गतिविधिमाथि निगरानी बढाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विपत्तिका कारण पीडामा रहेका नागरिकलाई थप पीडा हुने गरी सामाजिक सञ्जालमा सामग्री प्रसारण गर्ने तथा त्रास फैलाउने गतिविधिमाथि प्रहरीले विशेष निगरानी गरिरहेको छ।

“बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको यस दुःखद् घडीमा विभिन्न व्यक्ति, समूह तथा अराजक मानसिकता बोकेका व्यक्तिले हृदयविदारक तथा विभत्स तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी जनमानसमा थप पीडा र त्रास फैलाउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भएको छ,” प्रवक्ता काफ्लेले भने।

प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार फेसबुकमा १६८, टिकटकमा चार र इन्स्टाग्राममा एक गरी १७३ वटा गलत सूचना तथा अफवाहजन्य सामग्री प्रसारण भएको पाइएको छ। तीमध्ये फेसबुकका ७९ र टिकटकका चार सामग्री साइबर सक्रियतामार्फत सामाजिक सञ्जालबाट हटाइएको प्रहरीले जनाएको छ।

यस्ता गतिविधिको अनुगमन, पहिचान तथा नियन्त्रणका लागि साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ।

समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी अनुसन्धान गर्ने तथा सम्बन्धित प्रहरी कार्यालय र सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक कानुनी कारबाही अघि बढाउनेछ।

प्रहरी नायब उपरीक्षक आचार्यले सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचार प्रसारण गर्नेलाई कानुनी दायरामा ल्याउन समितिले सक्रिय रूपमा काम गरिरहेको बताए।

उनका अनुसार अञ्जानमा गलत सामग्री पोस्ट वा सेयर गर्नेहरूलाई पनि सामग्रीको गम्भीरता हेरेर सचेत गराउने र हटाउन लगाउने गरिएको छ।

विपद्को मौका छोपी हुनसक्ने अपराध तथा राहत सङ्कलनका नाममा हुने ठगी नियन्त्रणमा समेत प्रहरी सक्रिय रहेको प्रवक्ता काफ्लेले बताए।

उनले सामाजिक सञ्जालमा प्रवाह हुने गलत सूचना, अफवाह तथा भ्रामक सामग्रीमाथिको निगरानी अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको बताए।