शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कपिलवस्तुमा लागुऔषधसहित १९ जना पक्राउ

सोमबार, भाद्र २२ २०८३

कपिलवस्तु । कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ मुद्दा दर्ता भएका छन्। ती मुद्दामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।

जिल्लाका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागुऔषध बाँधेर लैजाँदै गरेको अवस्थामा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

पक्राउ पर्नेमा १३ जना पुरुष र छ जना महिला नेपाली नागरिक रहेका छन्।

प्रहरीले सो अवधिमा गाँजा, चरेस, हेरोइन, अफिम र नाइट्राभेट बरामद गरेको छ। बरामद लागुऔषधमा गाँजा १३० ग्राम, चरेस पाँच किलो २२५ ग्राम, हेरोइन तीन ग्राम १५० मिलिग्राम र अफिम १० किलो ३६४ ग्राम रहेको छ। यस्तै, नाइट्राभेट १० थानसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।

उहाँका अनुसार लागुऔषध कारोबारमा संलग्न पक्राउ परेकामाथि प्रचलित कानुनबमोजिम कारबाही भइरहेको छ।

पछिल्लो समय जिल्लाका सीमा क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ।