संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहार गरी एक शिक्षकको हत्या गरिएको छ।
मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक मैनालीका अनुसार गएराति करिब ७ बजे शिक्षक राईमाथि गोली प्रहार भएको थियो। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
राईको देब्रे कोखमा गोली लागेको र त्यहाँबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ। कालिका माध्यमिक विद्यालयमा बस्दै आएका राई खाना खाएर हात धुन बाहिर निस्किएका बेला उनीमाथि गोली प्रहार भएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्ति तथा घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।