काठमाडौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
सभाले सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र सञ्चालकको नियुक्ति पनि अनुमोदन गरेको छ । साथै, गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयरमा लाग्ने करबापत १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ ।
कम्पनीको उद्देश्यसँग मेल खाने अन्य कम्पनीलाई गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित भएको छ ।
त्यसैगरी, प्रबन्धपत्रमा संशोधन गर्दै कम्पनीले परिवर्तनीय डिबेञ्चर, प्राथमिकता प्राप्त सेयर तथा विदेशी लगानीकर्तालाई लक्षित वित्तीय उपकरण जारी गर्न सक्ने व्यवस्था गरिएको छ । ग्रिन क्लाइमेट फन्ड तथा ब्लेन्डेड फाइनान्सजस्ता अन्तर्राष्ट्रिय कोषबाट सहयोग लिन सक्ने व्यवस्था पनि सभाले पारित गरेको छ ।
एनडीपीले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउने व्यवस्था पनि स्वीकृत गरेको छ । नियामक निकायबाट प्रबन्धपत्रमा थप संशोधन वा सुधार गर्न निर्देशन आएमा आवश्यक प्रक्रिया अघि बढाउने अधिकारसमेत सञ्चालक समितिलाई दिइएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा करपछिको ७ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । कम्पनीको कुल चुक्ता पुँजी हाल १ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले एनडीपी स्थापना भएको केही समयपछि मात्र सरकारले वैकल्पिक वित्तीय वृत्त स्थापना गर्ने कार्यक्रम अघि बढाएको बताए । स्वदेशी पुँजी परिचालन गरी ठूला पूर्वाधार आयोजनामा लगानी जुटाउने, नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने तथा वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै लगानी र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको उनले बताए ।
“मुलुकभित्र र बाहिर छरिएर रहेको पुँजी सङ्कलन गरी उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार र महत्वपूर्ण आयोजनामा लगानी गर्न सकेमा मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुन्छ,” अध्यक्ष ढकालले भने, “कम्पनी नाफाका लागि मात्र स्थापना भएको होइन, यसले लगानी वातावरण सुधार्न र देशभित्रै पुँजी परिचालन गर्नसमेत योगदान गर्ने लक्ष्य राखेको छ ।”
कम्पनीका सेयरधनी देशका सबै ७७ जिल्लामा पुगिसकेकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे । उनले आगामी दिनमा जलविद्युत्, केबलकार, पर्यटन तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।