काभ्रेपलाञ्चोक । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण सहज बनाउँदै उपभोक्तालाई ताजा तथा स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले काभ्रेपलाञ्चोकमा हाटबजार सञ्चालनको क्रम बढेको छ । जिल्लाका विभिन्न स्थानीय तहले किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्ने गरी साप्ताहिक तथा पाक्षिक हाटबजार सञ्चालनमा ल्याएका हुन् ।
बनेपा नगरपालिकाले करिब अढाई वर्षअघि पहिलोपटक शुक्रबारे हाटबजार सुरु गरेको थियो । नगरको कृषि शाखाले विसं २०८० चैत १५ गतेदेखि बनेपास्थित लायकु राजमञ्च प्राङ्गणमा सञ्चालन गरेको हाटबजारमा तरकारी, दूधजन्य पदार्थ, फलफूल, लप्सीका क्यान्डी तथा कपडालगायत वस्तुको खरिदबिक्री हुँदै आएको छ ।
हाटबजारमा बनेपा तथा आसपासका किसानले आफ्ना उत्पादन आफैँ उपभोक्तामाझ बिक्री गर्दै आएका छन् । यसबाट बिचौलियाको भर पर्नुपर्ने अवस्था हट्नुका साथै किसानले उत्पादनको उचित मूल्य पाउने गरेका छन् ।
बनेपा नगरपालिकाका उपप्रमुख विमला दाहालले किसानले आफ्ना उत्पादन आफैँ बिक्री गरेर प्रत्यक्ष आम्दानी गर्न सकून् भन्ने उद्देश्यले हाटबजारलाई निरन्तरता दिइएको बताइन् ।
किसान रमेश शर्माका अनुसार ठेकेदारलाई उत्पादन दिँदा उनीहरूले निर्धारण गरेको मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहे पनि हाटबजारमा आफैँ बिक्री गर्दा आम्दानी बढ्ने गरेको छ । “बजारमा लैजाँदा ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो । यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ,” उनले भनिन् ।
‘स्थानीय उत्पादन उपभोग गरौँ, स्थानीय उत्पादन बढाऔँ, दैनिक उपभोग्य वस्तु किनमेलका लागि लायकु हाटबजार जाऔँ’ भन्ने नारासहित हरेक शुक्रबार सञ्चालन हुने हाटबजारबाट किसान र उपभोक्ता दुवै लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यसैगरी काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलका रूपमा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा पनि करिब दुई वर्षदेखि प्राङ्गारिक तरकारीको हाटबजार सञ्चालन हुँदै आएको छ । प्रत्येक शुक्रबार र शनिबार सञ्चालन हुने हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहमा आबद्ध किसानले उत्पादन गरेका प्राङ्गारिक तथा अग्र्यानिकउन्मुख कृषि उपज बिक्रीका लागि राख्ने गरेका छन् ।
काभ्रेपलाञ्चोक एकीकृत ग्रामीण सशक्तीकरण कार्यक्रममार्फत जैविक मल प्रयोग गरी विषादीरहित रूपमा उत्पादन गरिएका तरकारी तथा अन्य कृषि उपज हाटबजारमा बिक्री हुने गरेका छन् । यहाँ फर्सीको मुन्टा, बन्दा, काउली, अदुवा, तनेबोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तीतेकरेला, खुर्सानी, धनियाँ, रैथाने बोडी, निउरो, जिम्बु, सुकेको सिमी, प्याज, लसुन, गोलभेँडा र काँक्रोलगायत तरकारी बिक्रीमा राखिन्छ ।
त्यस्तै रैथाने कुखुरा, घरमै उत्पादन गरिएको घ्यू तथा मह, विभिन्न जातका नास्पाती र कागतीका साथै फलफूलका बिरुवासमेत हाटबजारमा बिक्री हुने गरेका छन् ।
कार्यक्रमका संयोजक बद्रीप्रसाद माकाजुका अनुसार २० वटा प्राङ्गारिक कृषक समूहमा ५०६ किसान आबद्ध छन् । व्यवस्थापन तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहयोगमा उक्त हाटबजार सञ्चालनमा ल्याइएको हो ।
नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढी हुने भएकाले पर्यटकलाई लक्षित गरेर हाटबजार सञ्चालन गरिएको परियोजनाका कृषि प्राविधिक जगतबहादुर शाहीले बताए । समूहमा आबद्ध किसानले उत्पादन गरेका मौसमी तथा बेमौसमी तरकारी हाटबजारमा बिक्रीका लागि ल्याउने गरिएको उनले जानकारी दिए ।
अग्र्यानिक तरकारीको हाटबजार सञ्चालनमा आएपछि स्थानीय होटल तथा पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदीप अधिकारीले स्थानीय अग्र्यानिक तरकारी होटल तथा रिसोर्टमा प्रयोग गर्न पाउँदा व्यवसायी खुसी भएको बताए । हाटबजारले नगरकोटका होटल तथा रिसोर्टमा स्थानीयस्तरमै उत्पादित तरकारीको आपूर्ति सहज बनाएको उनको भनाइ छ ।
नगरकोट क्षेत्रको पायक पर्ने चाँगुनारायण नगरपालिका–६ स्थित महामञ्जुश्री चोकमा उक्त हाटबजार सञ्चालन हुँदै आएको छ ।
यसैगरी पाँचखाल नगरपालिकाले पनि गत जेठ पहिलो सातादेखि साप्ताहिक कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । हरेक शुक्रबार र शनिबार सञ्चालन हुने हाटबजारमा विशेषगरी अग्र्यानिक तरकारीको प्रदर्शनी तथा बिक्री हुँदै आएको छ । नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक तथा व्यवस्थापन समिति पाँचखालको सहआयोजना र पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालन गरिएको हो ।
हाटबजारमा किसानले आफ्ना उत्पादन सोझै उपभोक्तालाई बिक्री गर्न पाएका छन् ।
यस्तै धुलिखेल नगरपालिका–१२ इँट्टेमा पनि शनिबारदेखि पाक्षिक कृषि हाटबजार सुरु भएको छ । स्थानीय गौरीशङ्कर साना किसान कृषि सहकारीले आयोजना गरेको हाटबजारमा विशेषगरी तरकारीलगायत स्थानीय कृषि उत्पादन बिक्रीका लागि राखिने आयोजकले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा हाटबजार विस्तार हुँदै गएपछि किसानलाई कृषि उपजको बजारीकरणमा सहज हुनुका साथै उपभोक्ताले स्थानीय, ताजा र गुणस्तरीय उत्पादन प्रत्यक्ष खरिद गर्न पाउने वातावरण बनेको छ ।