काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।
नेपालले समूह चरणको पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने उक्त खेलसँगै नेपालको प्रतियोगिता यात्रा सुरु हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ । प्रतियोगिताअघि भएका दुई अभ्यास खेलमा समेत नेपालले मलेसियालाई पराजित गरेको थियो । पहिलो अभ्यास खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा २७ रनको जित निकालेको थियो ।
प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको थियो ।
नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक खेल जितेको छ भने हङकङले दुई खेल जितेको छ । एक खेल भने रद्द भएको थियो ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेताले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ । प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म सञ्चालन हुनेछ ।
यसअघि सन् २०२४ मा भएको टी–२० ढाँचाको प्रिमियर कपबाट युएई, ओमान र हङकङ एसिया कपका लागि छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो ।
नेपालले प्रिमियर कपको पहिलो संस्करणको उपाधि जितेको थियो । सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाली टोली उक्त सफलता दोहोर्याउने लक्ष्यमा छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताए । विदेशी पिचमा खेल्नुपर्ने भए पनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ ।
“प्रतियोगिताअघि नेपाली टोलीले राम्रो अभ्यास पाएको छ । भारतमा गरेको प्रशिक्षणले पक्कै पनि एसिसी प्रिमियर कपमा टोलीलाई सहयोग मिल्नेछ । मुख्य प्रशिक्षक स्टुअर्ट लले हरेक अभ्यास खेललाई निगरानी गरेका छन् । त्यसले पनि टोलीलाई केही फाइदा मिल्ने देखिन्छ,” चौधरीले भने ।
टोलीमा रहेका नयाँ खेलाडी पनि राम्रो लयमा रहेको उनले बताए । “देव खनाल, आसिफ शेख, अर्जुन कुमाललगायतले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए । यसपटक पनि नेपालको बलियो पक्ष बलिङ नै हो,” उनले भने ।
मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालले १७१ रनको सामान्य लक्ष्य दिए पनि २७ रनको जित निकालेको उदाहरण दिँदै चौधरीले नेपाली टोलीको बलिङ पक्ष बलियो रहेको बताए। उनका अनुसार प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी ओमान र युएई हुन् ।
“नेपालले घरबाहिर खेल्दैछ । केही चुनौती अवश्य छन् । तर प्रतियोगिताअघि मलेसियाको पिचमा अभ्यास खेल खेलिसकेकाले खेलाडीहरू केही अभ्यस्त भइसकेका छन् । प्रतियोगितामा नेपालको प्रमुख प्रतिद्वन्द्वी ओमान र युएई हुन् । विगतमा पनि महत्वपूर्ण प्रतियोगितामा यी दुई टोलीले नेपाललाई केही समस्या दिएका छन्,” पूर्वखेलाडी चौधरीले भने ।
यसपटक एसिया कपमा स्थान बनाउन नेपालले उपाधि नै जित्नुपर्ने भएकाले प्रतियोगिता नेपाली टोलीका लागि थप महत्वपूर्ण बनेको छ ।