काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र एसिटीबीचको खेल अष्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा अपराह्न ३ः१५ बजे सुरु हुनेछ। नेपाल ‘ए’ दोस्रो जितको खोजीमा मैदान उत्रँदैछ भने लगातार तीन खेल हारेको एसिटी पहिलो जितको लक्ष्यमा हुनेछ।
नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको थियो। यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट तथा बङ्गलादेश हाइपरफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको थियो।
तीन खेलबाट दुई अंक जोडेको नेपाल ‘ए’ हाल अंकतालिकाको सातौँ स्थानमा छ। सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाली टोलीमाथि आजको खेल जित्नैपर्ने दबाब रहेको छ।
यस संस्करणका लागि नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार शाहले गरेका छन्। टोलीमा कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्।