काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा झापा घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा र झापा घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल रहेका छन्।
त्यस्तै, दोलखा घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीय पेमा लामा र ओखलढुङ्गा घर भई काठमाडौँ महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार सुष्माले चेक गणतन्त्र पठाइदिने भन्दै पाँच लाख ३५ हजार रुपैयाँ, करिनाले लिथुआनिया पठाइदिने भन्दै दुई लाख ५० हजार रुपैयाँ र साजनले फिनल्यान्ड पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएको आरोप छ।
यस्तै, पेमाले रोमानिया पठाइदिने भन्दै एक लाख रुपैयाँ तथा तोमकुमारीले माल्टा पठाइदिने भन्दै एक लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।