शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा ‘न्यू लाईफ’ बोर्डिङका प्रिन्सिपल भारत न्यौपाने पक्राउ

मंगलबार, भाद्र ९ २०८३

नवलपरासी (सुस्ता) । आफ्नै विद्यालयकी एक नाबालिग छात्रामाथि निरन्तर बाल यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लागेपछि फरार भएका श्री न्यू लाईफ ईग्लिस बोडिङ्ग सेकेण्डरी स्कूल, सिंगाहाका प्रधानाध्यापक भारत न्यौपाने अन्ततः पक्राउ परेका छन्।

पीडित बालिका र उनका बुवाले इलाका प्रहरी कार्यालय बेलटारीमा औपचारिक जाहेरी दर्ता गराएपछि फरार भएका न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बेलटारीमा उजुरी दर्ता भएलगत्तै न्यौपाने फरार भएका थिए।

आरोपित भागेपछि आक्रोशित बनेका स्थानीय बासिन्दा र अभिभावकहरूले विद्यालय घेराउ गर्दै तत्काल पक्राउ र कडा कारबाहीको माग गर्दै चर्को नाराबाजी गरेका थिए। जनआक्रोश बढ्दै गएपछि भरत न्यौपानेकी श्रीमतीले नै उनलाई प्रहरीको जिम्मा लगाएको स्रोतले जनाएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

यस्तो थियो घटनाक्रम:

प्रधानाध्यापक न्यौपानेले विगत ६ महिनादेखि ती बालिकालाई निरन्तर मानसिक यातना र यौन दुर्व्यवहार गर्दै आएको पीडित पक्षको आरोप छ। बालिकाका बुवाले ‘शिक्षक जस्तो मान्य व्यक्ति’ सम्झेर छोरीलाई कुरा गर्न आफ्नो मोबाइल दिने गरेका थिए।

तर, सोही विश्वासको दुरुपयोग गर्दै न्यौपानेले रातिको समयमा अश्लील म्यासेज पठाउने र आफ्नो यौन चाहना प्रकट गर्ने गरेको रहस्य खुलेको थियो। म्यासेजको वास्ता नगर्दा भोलिपल्ट विद्यालयमै बोलाएर विभिन्न प्रलोभन देखाउने र मानसिक दबाब दिने गरेको आरोप उनीमाथि छ।

सहन नसकेपछि पीडित बालिकाले साथीहरूलाई यसबारे जानकारी गराएकी थिइन्। त्यसपछि विद्यालयका विद्यार्थीहरूले चर्को विरोध प्रदर्शन गरेका थिए। आन्दोलनले उग्र रूप लिन थालेपछि विद्यालय प्रशासन र आरोपित न्यौपानेले आफ्नो फोन ‘ह्याक’ भएको बताउँदै प्रहरीमा साइबर अपराधको निवेदन दिएका थिए।

साउन २७ गते प्रहरीमा परेको उक्त सामान्य निवेदनका आधारमा प्रहरीले न्यौपानेको मोबाइल नियन्त्रणमा लिएको थियो, तर उजुरी परेपछि उनी भागेका थिए।

अबको बाटो: न्यायको पर्खाइमा सुस्तावासी

स्थानीय बासिन्दाका अनुसार उक्त विद्यालयमा यसअघि पनि यस्ता प्रकृतिका घटनाहरू हुने गरेको तर ‘गुपचुप’ मिलाएर दबाउने गरिएको गम्भीर दाबी गरिएको छ। यसपटक भने जनता न्यायका लागि सडकमा उत्रिएका छन्।

आरोपित पक्राउ परेपछि अब प्रहरी अनुसन्धान र कानुनी प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ। अधिकारकर्मी र स्थानीय नागरिक समाजले न्यायको यो लडाइँमा पीडित बालिकाको पहिचान, तस्बिर र गोपनीयतालाई पूर्ण रूपमा सुरक्षित राख्दै दोषीउपर कडाभन्दा कडा कारबाही गर्न प्रहरी प्रशासन र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

पैसा र शक्तिको आडमा यो घटनालाई विगतमा जस्तै सामसुम पार्न नदिने चेतावनी समेत स्थानीयले दिएका छन्।