बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

टप एन्ड टी–२० सिरिजमा एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल ‘ए’

शुक्रबार, भाद्र ५ २०८३

काठमाडौँ। नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटी स्ट्राइक) को सामना गर्न लागेको हो।

खेल डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे सुरु हुनेछ। नेपाल दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागी हुन लागेको हो।

यसअघि गत संस्करणमा नेपालको सिनियर टोलीले प्रतियोगितामा सहभागिता जनाएको थियो। त्यतिबेला नेपालले लिग चरणका ६ खेलमध्ये चारमा पराजय बेहोरेको थियो भने दुई खेलमा मात्रै जित निकालेको थियो।

यसपटक नेपाल ‘ए’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको अर्को चरणमा पुग्ने लक्ष्य राखेको छ। सोही लक्ष्यका साथ नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका केही अनुभवी खेलाडीलाई ‘ए’ टोलीमा समावेश गरेको छ।

टोलीमा कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल र गुलशनकुमार झाजस्ता सिनियर टोलीका लागि पटकपटक खेलिसकेका खेलाडी रहेका छन्। उनीहरूमध्ये अधिकांशले गत संस्करणको टप एन्ड टी–२० सिरिजमा समेत सहभागिता जनाएका थिए।

नेपाल ‘ए’ले एनटी स्ट्राइकविरुद्ध दोस्रोपटक खेल्न लागेको हो। गत सिजनमा भएको खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।

यसपटक भने नेपाल ‘ए’सँग गत संस्करणको हारको बदला लिँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने अवसर छ। अनुभवी खेलाडीको उपस्थितिले टोली बलियो बनेकाले नेपालले एनटी स्ट्राइकविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।