काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले काठमाडौं, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित स्थानीय ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका छन् ।
त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सङ्गम टोलबाट स्थानीय २३ वर्षीय घनश्याम बस्नेत तथा झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट भद्रपुर नगरपालिका–७ का २३ वर्षीय सुवास राजवंशी पक्राउ परेका छन् । राजवंशीको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट चार जना, दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लेवनबाट दुई जना र लमही नगरपालिका–५ सुनखोलीबाट एक जना पक्राउ परेका छन् ।
यसैगरी, कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ र नगदसहित शिवराज नगरपालिका–९ बानियाभारका २२ वर्षीय अर्जुन सुनारसहित तीन जना पक्राउ परेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोलसहित धादिङको धुनीबेँसी नगरपालिका–२ का २९ वर्षीय सुरज लुइटेल पक्राउ परेका छन् ।
त्यस्तै, धरान उपमहानगरपालिका–१६ शमीचोकबाट सोही स्थानका २१ वर्षीय विदुर कार्की पनि पक्राउ परेका छन् ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।