बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्मला पन्त प्रकरणः अनुसन्धानका गर्न प्राविधिक विज्ञ टोली गठन

बुधबार, असोज ८ २०७६

काठमाडौं असोज, ८– गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ ।

मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले प्राविधिक टोली गठन गरी अनुसन्धान थालेको पुष्टि गरे ।

‘यो नितान्त प्राविधिक टोली हो, यसको आफ्नै कार्यक्षेत्र छ त्यसकारण यो विषयमा बढी प्रचारवाजी गर्न जरुरी छैन, अनुसन्धान भइरहेको छ’, प्रवक्ता सुवेदीले भने ।

गत वर्ष साउन १० गते पन्तको बलात्कारपछि हत्या गरिएको थियो । साथीका घरबाट गृह कार्य गरेर घर फर्किरहेकी पन्तको अर्को दिन बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार रिजालको टिमलाई अनुसन्धानका लागि १५ दिनको समय दिइएको छ । नागरिक दैनिकले खबर छापेको छ ।