पर्सा । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार जिल्लाका सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० मा उनीहरूमाथि खानतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद भएको हो।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बरामद रकमसहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।