काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेललाई एकदिवसीय कप्तानीबाट हटाएपछि उहाँको नेतृत्वमा नेपाली क्रिकेटमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको छ।
क्यानले सोमबार रोहितलाई नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानको जिम्मेवारीबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको थियो। कप्तानी परिवर्तनपछि क्यानले सामाजिक सञ्जालमार्फत रोहितप्रति सम्मान व्यक्त गर्दै उहाँको नेतृत्वको स्मरण गरेको हो।
क्यानले राष्ट्रको आशा बोकेर जोश, समर्पण र दृढताका साथ नेपाली टोलीको नेतृत्व गरेकोमा रोहितलाई धन्यवाद दिएको छ। उनको नेतृत्वमा नेपाली क्रिकेटले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै क्यानले ती क्षणहरू नेपाली क्रिकेटको यात्रामा सधैँ सम्झनायोग्य रहने जनाएको छ।
‘धन्यवाद, रोहित, एउटा राष्ट्रको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपालको नेतृत्व गर्नुभएकोमा,’ क्यानले सामाजिक सञ्जालमा लेखेको छ।
टोली, देश र क्रिकेटप्रति रोहितले देखाएको प्रतिबद्धता सधैँ प्रेरणादायी रहने क्यानको भनाइ छ। उहाँको कप्तानीमा नेपाली टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै महत्वपूर्ण अनुभव हासिल गरेको थियो।
क्यानले आगामी दिनमा पनि रोहितले नेपाली राष्ट्रिय टोलीमा भावना, गौरव र समर्पणका साथ योगदान दिइरहने विश्वास व्यक्त गरेको छ। कप्तानीबाट हटाइए पनि राष्ट्रिय टोलीमा रोहितको भूमिका समाप्त नभएको संकेत गर्दै क्यानले भावनात्मक सन्देशसमेत दिएको छ।
क्यानले आफ्नो सन्देशको अन्त्यमा लेखेको छ, ‘एकपटक नेता बनेपछि सधैँ नेता नै रहिन्छ।’
रोहितलाई कप्तानीबाट हटाएर सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णयसँगै नेपाली क्रिकेटमा नेतृत्व परिवर्तनको विषय चर्चामा आएको छ। अब सन्दीपको नेतृत्वमा नेपाली टोलीले कस्तो प्रदर्शन गर्नेछ भन्ने विषयमा समर्थकहरूको चासो बढेको छ।