बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दशैं नजिकिएसँगै ह्वात्तै बढ्यो महंगी, तरकारीको मूल्य थेग्नै गाह्रो

सोमबार, असोज ६ २०७६

काठमाडौं असोज, ६– चाडपर्वका बेलामा अत्याधिक आवश्यक पर्ने तरकारीको मूल्य थेग्नै गाह्रो हुने गरी बढेको छ । आलु, प्याजलगायतका तरकारीको मूल्य आमनेपालीले धान्न नसक्ने गरी बढेको हो ।

सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले विभिन्न बहानामा तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।

एक साताअघि ९३ प्रतिकिलो रहेको प्याजको मूल्य अहिले १२५ नाघेको छ । त्यस्तै, एक साताअघि ६५ प्रतिकिलो पर्ने आलुको मूल्य अहिले ७५ नाघेको छ । बन्दा, काउली, मुला, भन्टा, बोडी, हरियो फर्सी, तीते करेलालगायतका तरकारीको मूल्य पनि यसरी नै बढेको छ ।

यो वर्ष भारत र नेपालमा उत्पादनमा कमी आएपछि तरकारीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन् । नेपाल आलुमा ६० प्रतिशत र प्याजमा ९० प्रतिशत भारतमाथि निर्भर छ ।

तरकारीको बजार मूल्य अकासिए पनि किसानले भने लागतअनुसारको मूल्य पाउन सकेका छैनन् । यसको सबै फाइदा बिचौलियाले लिएको किसानको गुनासो छ ।

काठमाडौंको थोक बजारमा आइतबार बोडी प्रतिकिलो १२० देखि १२५ र पर्बल ९० देखि ९५ रुपैयाँमा कारोबार भयो । त्यस्तै, उपभोक्ताले भिन्डी र काउलीलाई प्रतिकिलो १ सय २० रुपैयाँसम्म तिरेका छन् ।

थोक बजारमै घिरौंला, ठूलो खुर्सानी र सिमी प्रतिकिलो ९० देखि ९५ रुपैयाँ बढीमा किनबेच भयो । एक सातापहिले खुद्रा बजारमै प्रतिकिलो ६० देखि ८५ रुपैयाँमा पाइन्थ्यो ।

उपभोक्ताले यतिखेर हरियो तरकारीलाई खुद्रा बजारमा प्रतिकिलो सय रुपैयाँसम्म तिरिरहेका छन् । तराईमा तरकारी खेती डुबानमा परेकाले यहाँबाट आपूर्ति नबढेसम्म तरकारीको मूल्य नघट्ने व्यापारीको भनाइ छ । राजधानी दैनिकले खबर छापेको छ ।