बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन

आइतबार, असोज ५ २०७६

काठमाडौं, असोज  ५ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित समारोहबीच एक दिवसीय खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले खेलकुद विकासको संवाहक रहेको चर्चा गर्दै खेलकुदको स्तर उन्नतिका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल प्रहरीका खेलाडीले उच्चस्तरको खेल प्रदर्शन गर्दै नेपाल प्रहरीको साथसाथै राष्ट्रको गर्व, इज्जत र प्रतिष्ठा बढाउन उच्च नैतिकता र अनुशासनका साथ आफ्नो कौशल प्रदर्शन गर्न आवश्यक रहेको   बताउनुभयो । 

प्रहरी महानिरीक्षक खनालले समुदाय, प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न खेलकुदका विधाहरुलाई स्थानीय क्लबहरुसँग समन्वय गरेर नेपाल प्रहरी अगाडि बढ्ने बताउनुभयो ।

नेपाल प्रहरीले अहिलेसम्म खेलकुदमा गरेका उपलब्धीहरुलाई जगर्ना गरी अझ राम्रो खेल प्रदर्शन गर्दै अगाडि बढ्न खेलाडीहरूलाई निर्देशन दिनुभयो । अनुशासित संगठनका खेलाडीले खेलमार्फत अझै बढी अनुशासन झल्काउन पर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरीका खेलाडीहरुले विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई राष्ट्र विकास र संगठनको मान प्रतिष्ठालाई अन्तर्रा्ष्ट्रिय क्षेत्रसम्म पुर्या एको योगदानको चर्चा गर्नुभयो । 

समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शर्पा र काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपक केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, नेपाली सेना खेलकुद प्रमुख महासेनानी शशिकिरण रायमाझी, प्रहरी वरिष्ठ अधिकृतहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, नेपाल प्रहरीका खेलाडीहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको  थियो ।