काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन्।
राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको शनिबार आयोजित अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीभित्र अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर कार्यकर्ता विचलित हुनुपर्ने अवस्था नरहेको बताए।
उनले अन्तरसंघर्ष वा विगतका कुनै पनि मतभेदका कारण कोही त्रसित हुन नपर्ने भन्दै आफू सबैको अभिभावकका रूपमा काम गर्ने बताए। तर, जिम्मेवारी लिएर काम नगर्ने र संकटका बेला पछि हट्नेहरूका लागि पार्टीमा स्थान नरहने उनको चेतावनी थियो।
‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिनँ कि भनेर डराउनु पर्दैन। सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु,’ लिङ्देनले भने।
काम गर्ने कार्यकर्ताका लागि पार्टीमा पूर्ण ठाउँ रहेको तर पद मात्र ओगट्ने र संकटका बेला भाग्नेहरूलाई आफूले नै बिदा गर्ने उनको भनाइ थियो।
‘काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैँ धकेलेर बिदा गरिदिन्छु,’ उनले भने।
अध्यक्ष लिङ्देनले पार्टीप्रति जनताको विश्वास बढाउन कार्यकर्ताले आफ्नै परिवारबाट अभियान सुरु गर्नुपर्नेमा समेत जोड दिए।
‘पहिले आफ्नो परिवारका सदस्यहरूलाई राप्रपामा आबद्ध गराउनुस्। आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन्,’ उनले भने।