सुनसरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले चार क्विन्टल १८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकमा बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेका एउटा कार र मोटरसाइकलमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार कार र मोटरसाइकलबाट २२ वटा पोकामा राखिएको चार क्विन्टल १८ किलो गाँजा बरामद गरिएको हो।
प्रहरीले कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा सवार सोही स्थानका ३८ वर्षीय शङ्कर चौधरीलाई पक्राउ गरेको छ।
पक्राउ परेका चारै जनालाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।